प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएन: योगेश भट्टराई

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री दाहालले चीनसँग गम्भीरताका साथ ‘डिलिङ’ गर्न नसकेको बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका हुन्। उनले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त पार्न नसकिएको बताए। उनले चीनसँग नेपालको मुख्य अजेन्डामा रहेको बीआरआई परियोजनामा प्रवेश नै नभएको बताए। 

“बीआरआई चीनसँगको मुख्य अजेन्डा हो। तर त्यो अजेन्डा‍मा प्रवेश गरेको छैन। लिपुलेक, लिम्पियाधुरामा भारत र चीनले बसेर गरेको सहमतिमा नेपाललाई इगनोर गरेको छ। त्यो विषय उठाउनुपर्ने छ। हाम्रो चुच्चे नक्साका बारेमा चीनले जारी गरेका आफ्नो आधिकारिक नक्साहरूका बारेमा कुरा उठाउनुपर्ने थियो त्यो उठेको छैन। ताइवान, तिब्बतको मुद्दामा हामीले जसरी विश्वस्त बनाउनुपर्थ्यो चीनलाई, त्यो बनाउन प्रधानमन्त्रीको भ्रमणले सकेजस्तो लाग्दैन,” उनले भने। 

एमाले सचिव भट्टराईले प्रधानमन्त्री दाहालले चीनसँग गम्भीरताका साथ ‘डिल’ गर्न नसकेको बताए। प्रधानमन्त्री दाहालले तीर्थाटन गरेको र छुट्टी राम्रो गरी मनाएको उनको टिप्पणी छ।

छोरी चिनाउनेबाहेक प्रधानमन्त्रीको विदेश भ्रमणको कुनै फाइदा भएन: सांसद सिंह
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउनेबाहेक कुनै उपलब्धि नभएको टिप्पणी गरेका छन्। उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उनले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए। व्यस्त प्रधानमन्त्रीको एक/दुई दिनको मात्रै विदेश भ्रमण हुने उनको भनाइ छ।

“दुनियाँको कुनै पनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ? या ७ दिन बस्छ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन। प्रधानमन्त्री व्यस्त भएको भए एक/दुई दिनको भ्रमण हुन्छ। प्रधानमन्त्रीले के तीर्थयात्राका लागि गरेको हो भ्रमण? तीर्थयात्राका लागि त धेरै नेपाली दाजुभाइ घुमिरहेका छन् नि। त्यसका लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि। प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो। त्यसबाहेक के फाइदा भयो?”

प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल: सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल रहेको बताए। उनले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरू बढी उठाएको बताए। राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग भएको भन्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको उल्लेख गरे।

“यो भ्रमणलाई औसतभन्दा सफल भन्न सकिन्छ। असफल भन्न सकिँदैन अहिलेको अवस्थामा,” उनले भने। उनले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्साको सन्दर्भमा कुरा नउठाएकोप्रति रास्वपाको प्रश्न रहेको पनि बताए।