पूर्णरूपमा हट्यो मलंगवामा ‘कर्फ्यु’

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो।

सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यु’लाई आइतबार रातिदेखि पूर्णरूपमा हटाइएको छ।

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो। आइतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय/सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलंगवामा जारी कर्फ्यु आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

प्रजिअ यादवका अनुसार मलंगवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यु हटाइएको हो। यही असोज ४ गते बिहीबार राति १० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्युलाई हटाइर राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यु आदेशलाई निरन्तरता दिँदै आएको थियो।

सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले असोज ८ गतेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि राति ८ देखि बिहान ४ बजेसम्म जारी गरिँदै आएको कर्फ्यु आदेशलाई आइतबारदेखि नै निष्क्रिय गर्ने, असोज १८ गतेका दिन उपप्रधानमन्त्री एवं गृहमन्त्रीको समेत उपस्थितिमा मलंगवामा बृहत् सद्भाव र्‍याली आयोजना गर्ने, सदियौँदेखि विभिन्न धर्मावलम्बीबीच कायम रहेको सामाजिक सद्भाव एवं भाइचारा कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व निर्वाह गरी सहयोग गर्ने र कृष्णाजन्माष्टमी मूर्ति विसर्जनका क्रमदेखि गणेश पूजाको मूर्ति विसर्जनसम्म भएका घटनामा ढुंगामुढा एवं छुरा प्रहार लगायतबाट भएका भौतिक तथा घाइते समेतको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने र पुगेको क्षतिको मूल्यांकन एवं अनुसन्धान यथाशीघ्र जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गर्ने निर्णय गरेको छ।