साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।
बागलुङ– गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ। बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन्।
एक दशकभन्दा लामाे समय विदेशमा पसिना बगाएर स्वदेश फर्किएका उनी भन्छन् “जीवनको ऊर्जाशील समय विदेशमा बित्यो। अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ। ”
बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक बनेका छ। अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।
स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्। उनी भन्छन्, “पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यहीँ छ।”
विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ। चार वर्षदेखि बाख्रापालनमा लागेका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। “पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ”, उनी भन्छन्, “विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो।”
‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेका छन्। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ वटा बाख्रा छन्। खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख रुपैयाँ लगानी उने गरेका छन्। अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए। एउटा बोकाको २० देखि ३० हजार रुपैयाँसम्म बिक्री हुने उनकाे भनाइ छ।
खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएकोउनी बताउँछन्। कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ। उहाँले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेँडा खेती शुरू गरेका छन्। वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०/५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसीले बताए।
केसीकाे ध्यान अझै बाख्राको संख्या बढाउनेतर्फ छ। करिब दुई सय बाख्रा पाल्ने लक्ष्यका साथ अघि बढेका केसी बजारकाे कुनै समस्या नभएकाे बताउँछन्। विदेशले दु:ख गर्न सिकाएको र त्यहीअनुसार आफू लागिरहेकाे उनकाे भनाइ छ।
“विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो बिसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
