नेप्सेमा सामान्य अंकको सुधार, २ कम्पनीको शेयरमा सकारात्मक सर्किट

सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार परिसूचक ५.१९ अंकले बढेर एक हजार ९७६.२९ बिन्दुमा कायम भएको हो।

सोमबार २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर ८५ हजार ५९१ पटक खरिद बिक्री हुँदा एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँबराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरू सबै समूहका उपसूचक बढेको छ। सबैभन्दा धेरै विकास बैंक समूह १.३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ।

सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.२९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै एनआईसी एशिया बैंक लिमिटेडको २१ करोड ६८ लाख नौ हजार १४१ रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई लाख ८७ हजार ५२ कित्ता शेयर किनबेच भएको छ।