‘परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’

एमाले सचेतक महेश बर्तौलाले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले संसदीय समितिसमक्ष स्पष्ट पार्नुपर्ने बताए।

काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको टिप्पणी गरेका छन्। 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तीर्ण भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाएका हुन्। 

उनले परीक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट कस्तो न्यायको अनुभूति गर्ने भनी प्रश्नसमेत गरे। उनले न्यायाधीश नियुक्तिले न्यायालयप्रतिको मानिसको भरोसा र विश्वासमाथि कुठाराघात भएको बताए।

“अयोग्य भएको, परीक्षामा अनुत्तीर्ण भएको न्यायाधीशबाट कुन प्रकारको न्यायको अनुभूति गर्न सक्छौँ भन्ने गरी प्रश्न सिर्जना हुने खतरा भयो। यसले समग्र न्यायालयप्रतिको मानिसको भरोसा, विश्वासमाथि अर्को कुठाराघात हुनसक्ने संशय पैदा भयो,” उनले भने।उनले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समितिसमक्ष स्पष्ट पार्नुपर्ने माग गरे।

त्यस्तै, सचेतक बर्तौलाले नेपालगन्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसै खुँडा प्रहार गरी हत्या गरेर आजीवन कारावासको सजाय भोगिरहेको ‘रिगल’ भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाए। 

उनले सरकारको निर्णयलाई राष्ट्रपतिले लाल मोहर लगाएको भन्दै संविधान र कानूनले दिएको अधिकार गृहमन्त्रीले दुरुपयोग गरेको बताए। सरकारको यस कदमले व्यवस्था, संविधान र कानूनमाथि नै प्रश्न सिर्जना गरेको उनको भनाइ छ।