दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक छ: वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक दलहरूमाथि पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौती थपिएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए। उनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए।

“स्थायी शान्ति र दीर्घकालीन वातावरणमा जाने अवस्था बनाउनु छ। हामी मूल राजनीतिक पार्टीहरूलाई सरकारमा रहेका, प्रमुख प्रतिपक्षलाई पनि प्रश्न छ, हामीमाथिको प्रश्न राजनीतिक दल र नेताहरूले सकारात्मक जवाफ दिनुपर्छ,” उनले भने।

उपमहासचिव पुनले धार्मिक तथा सामाजिक सद्भाव बिथोलिने घटनाहरूप्रति नेतृत्व वर्ग र मूल राजनीतिक दलले लचकता, संयम र धैर्यताका साथ काम गर्नुपर्ने बताए। उनले सामाजिक सद्भाव बनाएर लैजान आवश्यक भएको भन्दै राष्ट्रिय नीतिमा सबै एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। 

“राष्ट्रिय शक्तिहरूलाई विश्वासमा लिएर हाम्रा विदेश नीति, आर्थिक नीति, विकास नीति, शिक्षा नीति, सामाजिक रूपान्तरणका नीति, सांस्कृतिक लगायतका राष्ट्रिय नीतिहरूमा सत्ता पक्ष, प्रतिपक्ष, राजनीतिक र राज्यका अन्य सबै शक्तिहरूलाई विश्वासमा लिएर मूलधार निर्माण गर्नुपर्छ,” उनले भने। उनले गरिबी र पछौटेपनविरुद्ध एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।