नक्कली कागजात पेस गरी जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनी निलम्बित

तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

काठमाडौँ— नक्कली कागजात पेस गरी जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले सोमबार निलम्बन गरेको छ।

तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

वैदेशिक रोजगारीको लागि इजाजतपत्र प्राप्त केही संस्थाहरूले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले बताए।

निलम्बित हुने म्यानपावरहरूमा गुड लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेसनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी, रोयल ओभरसिज नेपाल, जब्स ग्लोबल डट कम इप्लोइमेन्ट सर्भिस, लायन इन्टरनेसनल नेपाल, भण्डारी ओभरसिज, वल्ड फेभर ओभरसिज, नाप इन्टरनेसनल, मञ्जु श्री ओभरसिज सर्भिस, एएनएस एसोसियटस, क्यापिटल इन्टरनेसनल म्यानपावर, ग्रान्ड सुइट जब्स र ओक्सन इन्टरनेशनल परेका छन्।

जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउने व्यवस्था छ। यसरी प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन १४२ वटा म्यानपावर कम्पनीले अनुमति पाएका छन्।