मीनबहादुर विष्टको ‘साला पहाडमें क्या है’ सार्वजनिक

कविता संग्रहमा आधुनिक नेपाली समाजका विविध पाटाहरू झल्काउने ६४ वटा कविता समावेश गरिएको छ।

काठमाडौँ– मीनबहादुर विष्टका कविताहरूको संग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ। 

यसमा आधुनिक नेपाली समाजका विविध पाटाहरू झल्काउने ६४ वटा कविता समावेश गरिएका छन्। साथै, यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्ने प्रकाशक संस्था किताब पब्लिसर्सले जनाएको छ।

प्यूठानमा २०११ सालमा जन्मिएका कवि विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका छन्। 

शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागीसमेत हुन्।

विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरूको सगरमाथा’ लगायतका रचना छन्। 

विष्टका कविता देशको चिन्तामा केन्द्रित भएका र तिनले आम मानिसका समस्या झल्काएको पब्लिसर्सका प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताइन्।