वैदेशिक रोजगारीः विदेशबाट फर्किंदा मोबाइल, टीभी र सुन के–कति मात्रामा ल्याउन पाइन्छ, थाहा पाउनुस्

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाहरूले जुनसुकै आकार प्रकारको टीभी ल्याउँदा भन्सार तिर्नु पर्दैन।

काठमाडौँ– के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ र दशैँमा घर फर्किने सोच बनाउनुभएको छ? सुनदेखि टीभी लगायत विभिन्न सरसामान तथा उपहार ल्याउने सोच्नुभएको पो छ कि? 

यदि त्यसो हो भने नेपाल सरकारले तोकेको मात्राअनुसार मात्रै सामान ल्याउनुहोला। नत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानूनी उल्झनमा पर्न सक्नुहुन्छ। तपाईंले ल्याउनुभएकाे सामान जफत हुनसक्छ र भन्सार महसुल तिर्नुपर्ने पनि हुनसक्छ। 

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहानामा भन्सार तिर्नुपर्दैन। पुरुषको हकमा भने २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ। महिला र पुरुषले भन्सार तिर्नुनपर्ने मात्राबाहेक थप २०० ग्रामसम्म सुनको गहनामा भन्सार महसुल तिरेर ल्याउन पाइन्छ। पुरुषको हकमा २२५ ग्राम र महिलाको हकमा २५० ग्रामभन्दा बढी सुनको गहना साथमा बोकेमा बढी भएजति सबै जफत हुन्छ।

यस्तै, काँचो सुनको हकमा १०० ग्रामसम्म ३ प्रतिशत महसुल तिरेर ल्याउन पाइन्छ। गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कार्यालयले जनाएको छ। 

यस्तै, यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन। यदि श्रम स्वीकृति लिएका र  लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका श्रमिकले आफ्नो साथमा थप एक मोबाइल भन्सार नतिरी ल्याउन पाइन्छ। तर यसको लागि भन्सार कार्यालयमा स्वघोषणा गरी भन्सार प्रक्रिया भने पूर गर्नुपर्ने हुन्छ। 

वैदेशिक राेजगारीमा गएका नेपाली श्रमिकले स्वदेश फर्किंदा ल्याउने अर्को मुख्य सामान भनेको टेलिभिजन पनि हो। श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्किने र सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाहरूले जुनसुकै आकार प्रकारको टीभी ल्याउँदा भन्सार तिर्नु पर्दैन। तर श्रम स्वीकृति नलिइ लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएको अवस्थामा भने ३२ इन्चको टीभी मात्र भन्सार नतिरी ल्याउन पाइन्छ। योबाहेकका अन्य अवस्थामा सबै टीभीको लागि नियमअनुसार भन्सार महसुल तिर्नुपर्ने हुन्छ। 

यस्तै, यदि तपाईं कुनै पनि पेसामा आबद्ध हुनुहुन्छ भने आफ्नो पेसामा प्रयोग गर्ने उपकरणमा भन्सार लाग्दैन। जस्तै तपाईं संगितमा हुनुहुन्छ भने वाद्ययवादनका साधनहरू ल्याउँदा भन्सार लाग्दैन। यस्तै, खेलाडी हुनुहुन्छ भने त्योसँग सम्बन्धित वस्तुमा पनि भन्सार लाग्दैन। 

मदिराको हकमा एक लिटरसम्मकाे बाेतल भन्सार नतिरेरै ल्याउन पाइन्छ। त्यो भन्दा धेरै ल्याएमा भन्सार तिर्नुपर्ने हुन्छ।