फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए त्यसविरुद्ध कदम चाल्ने ओलीको चेतावनी

एमाले अध्यक्ष ओलीले शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको टिप्पणी गरेका छन्।

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको तर्क गरेका हुन्। 

“शान्तिप्रक्रिया होइन, तपाईंहरूलाई जस लिने चिन्ता थियो, त्यसकारण त्यसको श्रेय केपी ओलीलाई किन दिने भनेको होइन? त्यसैले अझैसम्म शान्ति प्रक्रिया टुंगिएको छैन। सम्माननीय प्रधानमन्त्री शान्तिप्रक्रियाका घाउ टुंग्याउन चाहनुहुन्न। द्वन्द्व पीडितलाई नुन चुक छर्किएर आन्दोलन सिर्जना गर्न थालिएको छ,” उनले भने। 

उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रूपमा मनाउन आफूहरू तयार नरहेको जिकिर गरे। उनले फागुन १ गतेलाई सरकारी बिदा दिने कुरा मान्य नहुने बताए। उनले फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरूले कदम चाल्नुपर्ने चेतावनी दिए। उनले आगामी मन्त्रिपरिषद्को बैठकबाट नै सो निर्णय फिर्ता लिन माग गरे।

“नेपाल र नेपाली जनताका लागि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन मन्जुर छैन। हामी उत्सवको रूपमा मनाउन तयार छैनौँ। हामी छुट्टी मनाइ मनाइकन नाचगान र भतेर गर्न तयार छैनौँ। यो आउने क्याबिनेटबाट निर्णय फिर्ता लिनुस्। बिदा फिर्ता लिनुहुन्न भने यसलाई रद्द गर्नुहुन्न भने हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ,” उनले भने।

अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोके पनि दोषीलाई सरकारले छोडेको भन्दै आपत्ति जनाए। उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए। 

उनले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गरे। हिंसात्मक घटनालाई प्रोत्साहित गर्ने गरी अपराधीलाई कैद मिनाहा गरेको भन्दै उनले आपत्ति जनाए। उनले देशमा न्याय छैन कि यही हो न्याय?, कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्‍यो भन्दै प्रश्न गरे।