नेपालगन्जमा सामाजिक सद्भाव नभड्काउन सांसद जबराको आग्रह

राप्रपाका सांसद धवलशमशेर जबराले ‘साइबर क्राइम’ नियन्त्रण गर्न नसकिए देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबराले नेपालगन्जमा सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले नेपालगन्ज सद्भावको शहरको रूपमा रहेको उल्लेख गर्दै त्यहाँको सामाजिक सद्भाव नभड्काउन हिन्दु र मुस्लिम समुदायलाई आग्रह गरेका छन्। 

नेपालगन्जमा दुई समुदायबीचमा उत्पन्न भएको तनावका कारण आजै कर्फ्यु लगाउनुपर्ने स्थिति बनेको छ। सांसद जबराले दुई समुदायबीचको तनावको कारण सामाजिक सञ्जाल भएको भन्दै त्यस्तलाई तुरुन्तै नियन्त्रण गर्न सरकारलाई आग्रह गरे। उनले साइबर क्राइम नियन्त्रण गर्न नसकिए देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। 

उनले आ–आफ्नो विरोधको कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न दुवै समुदायलाई आग्रह गरे। “सद्भावलाई कायमै राखेर सबै शान्तिपूर्ण रूपले आ–आफ्नो विरोध गर्न पाइन्छ। तर उग्र र हिंसाको बाटोलाई लिएर सद्भावको शहरमा अशान्तिको भावनाहरू नखलबल्याइदिन र सद्भाव नखलबल्याउन नेपालगन्जवासीलाई विनम्र अनुरोध गर्दछु,” उनले भने। उनले संयमित भएर नेपालगन्जको शान्ति र सुरक्षालाई कायम राख्न आग्रह गरे।