यसपालिको दशैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ। मंगलबार समितिले विज्ञप्ति जारी गर्दै दशैँको टीका थाप्ने साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा परेको जनाएको हो।

असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ।

कार्यकारी निर्देशक ढुंगेलका अनुसार असोज २९ गते सोमबार झन्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ भने पश्चिम फर्केर झन्डा फेर्नुपर्ने छ। कात्तिक २ गते बिहीबार पचलीभैरव यात्रा गरिन्छ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ। फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जानकारी दिएको छ। कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ।

कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ। घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीको बिहान १०ः३७ बजे विसर्जन गर्ने साइत परेको छ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।

विजयादशमीका दिन बिहान ९ः२ बजे तलेजु भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ।