अमेरिकी सभामुख केभिन म्याकार्थी पदमुक्त

डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।

काठमाडौँ– अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को सभामुखबाट केभिन म्याकार्थी पदमुक्त भएका छन्।  

सभामुख म्याकार्थीलाई हटाउन उनकै दल रिपब्लिकनका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावको पक्षमा २१६ मत परेको छ।

आफ्नै दलका सभामुखलाई हटाउन रिपब्लिकनका आठ जना सांसदले पनि मतदान गरेका छन्। विपक्षमा २१० मत परेको छ। 

यो कदमले रिपब्लिकनभित्रको आन्तरिक तनाव सतहमा आएको छ। अमेरिकी संसद्को २३४ वर्षको इतिहासमा पहिलो पटक सभामुख यसरी पदमुक्त भएका हुन्। 

डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।

म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराएका थिए।