सिक्किममा भारी वर्षासँगै आएको बाढीमा २३ भारतीय सेना बेपत्ता

भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो। 

काठमाडौँ– भारी वर्षापछि आएको बाढीमा परेर भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन्। भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो। 

भारी वर्षासँगै त्यहाँ रहेको छुन्थाङ ड्याम भरिएर पानी बाहिर आएको थियो। हिमताल फुटेका कारण पानीको सतह बढेको हुनसक्ने बताइएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार ड्याममा पानीको सतह २० फिटमाथि पुगेको छ। त्यसैगरी सेनाको बेसक्याम्पमा पनि क्षति पुगेको जनाइएको छ।

सेनाका गाडीहरू पनि बगाएको सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँको सेनालाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बताएअनुसार २३ जना सेनाका जवानहरू बेपत्ता भएका छन् । खोजी कार्य जारी राखेको सेनाले उल्लेख गरेको छ। सो स्थान नेपालको सीमा क्षेत्र नजिक एवं विश्वकै तेस्रो उच्च शिखर कञ्चनजंगा हिमालको आसपासमा पर्छ।