नेपालको सुपारी भारत निकासीका लागि सरकारले आवश्यक पहल गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको बताएका छन्। 

काठमाडाैँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार रहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। उनले सुपारी व्यवसायीहरूसँग छलफल गरेर यसको विषयमा सरकारले निर्णय लिने बताए।

उद्योग मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकार तयार रहेको उनकाे भनाइ छ। नेपाल सुपारी खेती विकास संस्थालाई 'ओरिजिनल सर्टिफिकेट' बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले नचिन्ने बताए। मन्त्री रिजालले नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले यसकाे बजार नेपालमा भन्दा पनि भारतमा धेरै रहेको उल्लेख गरे।

उनले भने, "नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिनल सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरि अरुलाई भारतले चिन्दैन। नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ। त्यसको बजार भनेको भारत नै हो। भारत निर्यातको लागि मन्त्रालयले सहजीकरण गरेर हुन्छ भने गर्न सक्छौँ। नेपालबाट निर्यात गर्न समस्या भएपछि भारतको अदालतमा पनि मुद्दा हाल्नुभयो। भारतको अदालतले निर्यात गर्न दियो। भारत भन्सारले बारम्बार समस्या आइरहेको छ।"