जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

पछिल्लो समय युराेपेली देश नेपाली श्रमिकको रोजाइको गन्तव्य बन्दै गएका छन्।

काठमाडौँ– सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्। दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको मन्त्री शर्माले जानकारी दिइन्। 

आउँदाे शुक्रबार नेपाल र रोमानीयाबीच श्रम सम्झौता हुन गइरहेकाे छ। त्यसका लागि श्रममनत्रीसहितको प्रतिनिधिमण्डल बुधबार रोमानीया जाँदैछ। श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो।

पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै गएकाे छ।