वैदेशिक राेजगारीकाे प्रलाेभन देखाएर ठग्दै आएका पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

उनीहरूले ८० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

काठमाडौँ– वैदेशिक राेजगारीकाे लागि युराेपेली देश पठाउने भन्दै ठगी गर्ने दुईजना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

पाकिस्तान राहुलपिन्डीका नाजिर मोहमद र अजरबैजानकी अइसेल हुसेनिललाई काठमाडौँको ठमेलस्थित होटल यात्री एन्ड डुडी सुट्स एन्ड स्पाबाट पक्राउ गरिएकाे हाे। उनीहरूले ८० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगल लगायत देशमा पठाइदिन्छु भन्दै ठगी गर्दै आएका थिए। विदेशको प्रक्रिया गर्नको लागि प्रतिव्यक्ति एक हजार डलर लिने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूले नक्कली करार पत्र, वर्क पर्मिट, भिसा लगायत कागजात पठाएर रकम माग्ने गरेको अनुसन्धानबाट खुलेको छ। यस्तै पीडितलाई विश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाउने गरेकाे प्रहरीले जनाएकाे छ।