पर्यटकलाई सधैँ ‘बैसरी’ पहिरोको चुनौती

मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्। 

गण्डकी– हिमालपारिको जिल्ला मुस्ताङ केही दिनयता धार्मिक पर्यटकले खचाखच छ। दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकमा गाडीको चाप छ। तर, उक्त सडकको बैसरीलगायत स्थानमा निरन्तर खसिरहने पहिरोका कारण यात्रुले सास्ती भोग्नुपरेको छ।

सोह्र श्राद्धलाई लक्षित गरी मंगलबार नवलपुरबाट हिँडेका सरोज ढकाल बेलुका गलेश्वर आएर बसे। “बुधबार बिहानै मुस्ताङतर्फ लागेका थियौँ। तर, करिब तीन किलोमिटर टाढा पुगेपछि सडकमाथिबाट खसेको पहिरोले अघि बढ्न सक्ने अवस्था रहेन,” परिवारसहित गएका उनले भने, “त्यसपछि पुनः गलेश्वर नै फर्कियौँ।”

दिउँसो ३ बजे पहिरो पन्छाएपछि मात्रै उनीहरू मुस्ताङतर्फ गए। ढकाल जस्तै यहाँ यात्रा गर्ने सबैले यो समस्या दिनानुदिन भोग्दै आएका छन्। बुधबार बैसरी, रुप्सेलगायत पाँच ठाउँमा पहिरो गएको थियो। त्यसो त मंगलबार पनि दिनभर जस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नुपरेको स्थानीय होटल व्यावसायी जसमाया पुनले बताइन्। 

“दिनदिनै जाने गरेको पहिरोले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्,” उनले भने, “वर्षौँदेखिको समस्या समाधान नहुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति।”

उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको दुखेसो छ। २०७२ जेठ ९ गते राति पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा त्यसयता लगातार सडक अवरुद्ध हुने गरेको छ। उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको थियो।

बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो।

बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताए। केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएका थिए। “मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रूपमा चुनौती बनेको छ,” उनले भने, “निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ।”

मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अधिकृत सागर श्रेष्ठले बताए। 

हिन्दु र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ। पछिल्ला वर्षमा भारतीय दर्शनार्थीको घुइँचो लाग्न थालेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए।

उपल्लो मुस्ताङस्थित माटाको शहरका रूपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको सुवेदीको भनाइ छ।