विद्यालयका लागि गाउँलेले उठाए २ करोड चन्दा, २२ कोठे भवन पुनः निर्माण

प्रवासीले पसिना बगाएर जम्मा गरेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेका छन्। एक जनाले ५०० देखि १० लाख रुपैयाँसम्म सहयोग गरेका छन्।

बेनी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीवासीले जन सहभागितामूलक विकासको नमुना प्रस्तुत गरेका छन्। उनीहरूले दुई करोड रुपैयाँभन्दा बढी चन्दा संकलन गरेर विद्यालय भवनको पुनः निर्माण गरेका हुन्

विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले  जयन्ती माध्यमिक विद्यालय भवन पुनः निर्माण गरेका हुन्। जसका लागि २०७२ सालमा अभियान शुरू गरिएको थियो। सोही अभियानबाट जुटेको रकमले २२ कोठे दुई तले भवन तयार भएको प्रधानाध्यापक भोजबहादुर जिसीले बताए। विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माण गरेर घेरावारासमेत गरिएको छ। 

“साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनः निर्माणसँगै हटेको छ,” उनले भने, “बालबालिकाले सुविधासम्पन्न कक्षा कोठामा बसेर अध्ययन गर्ने अवसर पाएका छन्।” विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए। 

“प्रवासमा रहेका गाउँलेको विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो,” उनले भने, “पछि सरकारी निकाय, संघसंस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो। अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो।”

स्थानीयवासीले उत्साहजनक रूपमा जनश्रमदानदेखि नगद सहयोग जुटाए। प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीले बताए। संघसंस्था र सरकारी निकायले पनि सहयोगसमेत थपिएपछि भवन पुनः निर्माणमा राहत भएको उनको भनाइ छ। 

भवन बनाउने अभियानमा ५०० देखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ। कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा १७६ विद्यार्थी अध्ययनरत छन्। यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए। उनका अनुसार, पुनः निर्माण भएको विद्यालय भवनको एक समारोहबीच उद्घाटन गर्ने तयारी छ। उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिनेछ। 

विद्यालय भवन पुनः निर्माणमा समुदायका मात्रै २१२ चन्दादाता छन्। अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा संकलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन्। हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनः निर्माण अभियानमा बजेट उपलब्ध गराएका छन्। 

विद्यालय भवन पुनः निर्माणमा तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघसंस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार सहयोग जुटेको छ। सहयोग आउने क्रम जारी छ। नेपाल सरकारका विभिन्न निकायबाट एक करोड १७ लाख बजेट प्राप्त भएको छ। समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न संघ संस्थाबाट नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा ६२ लाख सहयोग जुटेको छ। हिमालयन प्रोजेक्ट बेल्जियमले ३८ लाख रुपैयाँ सहयोग गरेको छ।

“२०४५ सालमा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए,” वडाध्यक्ष पदमबहादुर पुनले भने, “अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ। अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ।”

यो विद्यालय भवन पुनः निर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीवासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन्। २०१६ पुस १६ मा सत्यमान पुनको नेतृत्वमा विद्यालयको स्थापना भएको थियो। २०१७ सालमा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो।