सुन तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम

आयोगले सुन तस्करीसम्बन्धी विभिन्न विषयमा कात्तिक १६ गतेसम्म सूचना र सुझाव संकलन गर्ने जनाएको छ।

काठमाडौँ– सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम प्रारम्भ गरेको छ। 

गृह मन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय स्थापना गरी काम शुरू गरिएको आयोगका अध्यक्ष, उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यले जानकारी दिए। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष आचार्यले आयोगलाई अदालतसरहको अधिकार रहेको बताए।

यसअघि बुधबार आयोगको पहिलो बैठक बसेको थियो। उक्त बैठकले आयोगको नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८०’ राख्ने निर्णय गरेको थियो। आयोगले सुन तस्करीसम्बन्धी विभिन्न विषयमा कात्तिक १६ गतेसम्म सूचना र सुझाव संकलन गर्ने जनाएको छ।

“अनुसन्धानमा तानिने व्यक्तिहरूलाई बोलाउँछौँ। नयाँका हकमा आयोगले पक्राउसम्म गर्न पाउँछ। सीआईबीले गरेको अनुसन्धानलाई स्रोतका रूपमा लिनेछौँ,” उनले भने, “अध्ययन अनुसन्धानका लागि थप जनशक्ति माग्छौँ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १४ गते आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो। आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।