कैद माफी मिनाहाबारे सरकारले जवाफ दिनुपर्छ: गगन थापा

कांग्रेस सांसद गगन थापाले कानूनी छिद्र प्रयोग गरी गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद माफी मिनाहा गरिएको भन्दै विरोध जनाएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले कानूनको छिद्र प्रयोग गरी गम्भीर अपराधमा संलग्न रहेको ठहर भएकालाई माफी मिनाहा गरिएको भन्दै विरोध जनाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बदनियतसाथ गरिएका यस्ता निर्णयको विरोध गर्ने बताए।

संविधान दिवसका दिन ६७० जनालाई माफी मिनाहा गरिएको उल्लेख गर्दै उनले त्यसमध्ये कतिपय संविधानसम्मत र कानूनसम्मत भए पनि संविधानको मर्मविपरीत कानूनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराध ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको बताए।

“बदनियतसाथ भएको यो निर्णय गलत छ। यसको विरोध हुन्छ र हामी गर्छौं,” उनले भने। यो विषयले अदालतको ढोकासम्म पुगेर आफूहरूलाई गिज्याइरहेको र अदालतमाथि पनि प्रश्न खडा भएको उनको भनाइ छ।

बाँकेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिनमा आममाफी दिएपछि विरोध भइरहेको छ। उनी चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल जीवन बिताइरहेका थिए। चेतनकी श्रीमती भारतीले सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। साथै उनलाई पुनः जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन जारी राखेकी छन्।

“यो संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानूनको अपव्याख्या भएको छ। यो निर्णय गलत छ। त्यसको सदन र बाहिर विरोध भएको छ,” उनले सरकारले माफी मिनाहा दिनुपर्ने कारण सदनलाई बताउनुपर्ने भन्दै भने, “सरकारले जवाफ दिनुपर्छ। निर्णय आफू गरेर भाग्न पाइँदैन। किन गरेको? यत्रो सार्वजनिक प्रश्न उठेको छ।”

उनले यस्ता कुरामा आर्थिक अनियमितता हुने गरेको पनि बताए। उनले भने, “यसमा ठूलो आर्थिक चलखेल छ त्यतातिर पनि ध्यान जानुपर्ने हुन्छ।” उनले कानूनी छिद्र टाल्न विभिन्न कानूनहरूलाई एकीकृत गर्नुपर्ने अवस्था आएको बताए।