पर्यटनमन्त्री भन्छन्– रेस्टुरेन्ट चलाउने र हवाईजहाज चलाउने ऐन एउटै छ

पर्यटनमन्त्री किरातीले चिनियाँ जहाजका सम्पूर्ण सामानहरू नपाउँदा घाटा लागेको भन्दै यसको निकासका लागि पटक–पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेस्टुरेन्ट चलाउने र हवाईजहाज चलाउने ऐन एउटै भएको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार भएको छलफलमा उनले हवाईक्षेत्रमा पहिल्यैदेखि संकटमै रहेको र कानूनी व्यवस्थाका कारण पनि हवाई कम्पनी वा हवाईक्षेत्र समस्यामा परेको बताएका हुन्। 

“त्यसै पनि हवाई क्षेत्रमा संकट नै छ, रेस्टुरेन्ट चलाउने ऐन र हवाईजहाज चलाउने ऐन एउटै छ। नेपालमा, त्यसमा चिनियाँ जहाजको सन्दर्भमा हामी आएर बन्द गरेको होइन, अगाडिको सरकारले नै पारित गर्दै नउडाउनु भनेर बन्द गरिएको हो,” उनले भने, “चिनियाँ जहाजका लागि प्रशिक्षणयुक्त पाइलट नभएको, यसको पार्टपुर्जा नभएको यस्ता समस्याका कारण बन्द गरिएको हो।”

उनले चिनियाँ जहाजका सम्पूर्ण सामानहरू नपाउँदा घाटा लागेको भन्दै यसको निकासका लागि पटक–पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए। “चिनियाँ जहाजको सम्पूर्ण सामानहरू नपाउने भएको र धेरै घाटा लाग्ने कारणले गर्दा यसको निकासका लागि पटक पटक समिति गठन भएको छ। हामीले लिजका लागि पनि पहल गरेका थियौँ कोही आउँदैनन्,” उनले भने।

समिति सभापति राजकिशोर यादवले वायुसेवा निगम डुबाउनका लागि को–को कारक हुन् उनीहरूलाई दण्डित गर्न आवश्यक रहेको बताए। समितिमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले यस्तो समस्यालाई बुँदागत हिसाबले समाधानका लागि समितिले सकारात्मक पहल गर्ने बताए।

“वायुसेवा निगम डुब्यो भनेर जो भन्छौँ, यो डुबाउन को–को कारक तत्त्व थिए? उनीहरूलाई दण्डित गर्नुपर्ने आवश्यकता छ कि छैन? यो गम्भीर विषय हो र यसलाई त्यसैगरी अघि लानुपर्छ। बुँदागत हिसाबले समस्या र समाधानका लागि समितिले सकारात्मक पहल गर्ने जानकारी गराउन चाहन्छु,” उनले भने।

बैठकमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा कानून मन्त्रालयलाई जानकारी गराउँदा पनि तयारीबिना आएको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले उक्त विधेयकलाई समृद्ध बनाउनका लागि समितिका तर्फबाट अध्ययन भइरहेको भन्दै अर्को बैठक राखेर यो विधेयकबारे विस्तृत रूपमा छलफल गर्ने बताए।