यही रूपले जनता भाग्ने हो भने १०–२० वर्षपछि देश रित्तै हुन्छ– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे। 

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले विदेश पलायन नरोकिए अबको १०–२० वर्षमा मुलुक रित्तिने भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँदै भने, “यही रूपले जनता भाग्ने हो भने १०–२० वर्षपछि मुलुक रित्तै हुन्छ।”

उनले बिदेसिनेहरू बेरोजगार मात्र नभएको बताए। उनले मन्त्री, सांसद तथा हुने खाने साहु महाजनका छोराछोरी पनि विदेश पलायन भएको उल्लेख गर्दै विदेश पलायनको अजेन्डालाई गम्भीर रूपमा लिएर छलफल गर्नुपर्ने बताए। 

“सबै बेरोजगार भएर, काम नभएका मान्छे मात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छभन्दा नेपालमा केही हुन्न,” उनले भने, “त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अस्ट्रेलिया, त्यो गर्न नसक्ने कमसेकम जापान। सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ। यो अजेन्डामा हामीले संसद्मा छलफल गर्नुपर्छ।”

उनले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे। गोहीको आँसु बगाएर मात्र केही नहुने बताएका उनले यस्तै अवस्था हो भने मुलुक रित्तो हुँदै जाने अवस्था आउने बताए।