संसद्लाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो नबनाऔँः सांसद सापकोटा

सांसद माधव सापकोटा समाजलाई अनुशासित बनाउन सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृङ्खलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद् बैठकमा राजनीतिक कुराहरू र एक अर्कोलाई आरोप–प्रत्यारोप गर्ने कुराहरू मात्रै हुन थालेको भन्दै त्यसो गर्नु नहुने बताएका हुन्।

उनले संसद्ले कानून बनाउने कुराभन्दा राजनीतिक कुराहरूमा नै समय खर्च गरेको भन्दै अब संसद् र सांसदहरू जिम्मेवार हुनुपर्ने बताए। उनले संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन सांसदहरूलाई आग्रह गरे। संसद्भित्र जनताका कुराहरू, संविधान र कानून निर्माणका कुराहरूलाई जोड दिइनुपर्ने उनको भनाइ छ। उनले राजनीतिक कुराहरू सर्वदलीय बैठक गरेर भन्ने गर्नुपर्ने सुनाए। “संसद्लाई धेरै राजनीतिको कुण्ठा व्यक्त गर्ने थलो, एक अर्कोलाई नांगेझार पार्ने चिज नबनाऔँ,” उनले भने।

उनले देशमा जातीय तथा साम्प्रदायिक घटनाहरू बढिरहेको भन्दै यसप्रति सचेत हुन आग्रह गरे। उनले समाजलाई अनुशासित बनाउन सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृङ्खलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए। “शीर्ष नेताहरू ज्यादा अनुशासित हुने, जिम्मेवार हुने र सिंगै देशलाई एउटा सन्देश दिने र देशलाई कमान्डमा लिनका निम्ति उहाँहरू स्वः अनुशासित हुनुपर्दछ। किन त्यसो भएको होला?” उनले भने।

सांसद सापकोटाले विपक्षी दलका नेतालाई संसद्मा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरे। उनले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन चेतावनी दिए। “प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनु भएन भने त्यो बैठक नै अगाडि जान सक्दैन। त्यसरी हेर्दा हाम्रो संविधानमा प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफ दि स्टेट’का रूपमा लिइन्छ। यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिएर फेरि समाजमा हिजो युद्धमा गएका सबै घाइतेहरूले गोली बोकेको शरीर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो?,” उनले भने।