रिगलको कैद माफी मिनाहा गर्नुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रिटलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

काठमाडौँ– सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद माफी मिनाहा गर्नुको कारण माग गरेको छ। चेतन मानन्धरकी पत्नी भारतीले दिएको रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट रिगलको कैद माफी मिनाहा भएपछि न्याय माग्दै भारतीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। उनले रिगललाई पुनः जेलमै पठाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघरमा अनशनसमेत शुरू गरेकी छन्।

नेपालगन्जका चेतनलाई बीच बजारमै खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई जन्मकैदको सजाय सुनाएको थियो। पछिल्लो समय नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेता रहेका रिगल नेपालगन्ज आसपासमा गुन्डागर्दीमा कहलिएका व्यक्ति हुन्।

“निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु पर्ने/नपर्ने हो? जारी हुनु नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाइ प्रत्यर्थीमध्ये रिगल ढकाललाई आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४६ (१) बमोजिम मिति २०८०/०६/२४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु” आदेशमा भनिएको छ।

त्यस्तै, सर्वोच्चले रिट निवेदनको टुंगो नलाग्दासम्म निवेदक तथा निजको परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा आवश्यक भए सोको व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई भनेको छ। पेसीलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिइएको छ।

महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुन आदेश दिँदै सर्वोच्चको आदेशमा अगाडि भनिएको छ, “प्रस्तुत निवेदनमा रिट निवेदक वा प्रत्यर्थी कुनै पक्षको अनुरोधमा पनि स्थगित नहुने व्यहोरा जनाउ दिई अरू नियमानुसार गरी पेस गर्नू।”