साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक जोन फोसलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसले पाउने भएका छन्।

काठमाडौँ– यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसले पाउने भएका छन्। नोबेल पुरस्कार समितिले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फोसलाई दिने घोषणा गरेको हो। उनका सिर्जनात्मक नाटक तथा काव्यले व्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको भन्दै फोसलाई नोबेल पुरस्कार दिन निर्णय गरिएको समितिले जनाएको छ।

समितिका अनुसार उनका नर्वेजियन नाइनोर्स्क र विभिन्न विधामा लेखिएका नाटक, उपन्यास, कवितासंग्रह, निबन्ध, बालसाहित्यका पुस्तकहरू र अनुवादहरू प्रकाशित छन्। उनी पछिल्लो समय संसारमा व्यापक रूपमा प्रदर्शन गरिएका नाटककारहरूमध्ये एक हुन्। उनले रचना गरेका काव्यहरू पनि खुबै रुचाइने गरिएका छन्।

फोसको जन्म सन् १९५९ मा नर्वेको पश्चिमी क्षेत्रमा रहेको हाउजेसुन्डमा भएको थियो। उनको पहिलो उपन्यास ‘राउड’ हो। उनले यो उपन्यास सन् १९८३ लेखेका हुन्। आत्महत्याको विषयवस्तुलाई प्रस्तुत गरिएको यो उपन्यासले उनका त्यसपछिका कामका लागि मार्ग निर्माण गरेको थियो। उनलाई आगामी डिसेम्बरमा आयोजना हुने विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ। 

यसअघि समितिले कोरोनाविरुद्धको खोप विकासमा योगदान पुर्‍याउने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कारको घोषणा गरेको थियो।

त्यस्तै, रसायनशास्त्रतर्फ न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकलाई र पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाउने तीन वैज्ञानिकलाई पुरस्कार दिने समितिले घोषणा गरेको थियो। अब शान्ति र अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा हुन बाँकी छ।