बिदा दिएर शहीदलाई सम्झने कुरा गलत हो– प्रदीप पौडेल

सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने तर बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको टिप्पणी गर्दै सांसद पौडेलले अहिले दिइँदै आइएका बिदाहरू पनि आधा घटाउनुपर्ने बताए।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शहीदको सम्मानका लागि भन्दै सार्वजनिक बिदा दिने निर्णय ठीक नभएको बताएका छन्।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले मानिसलाई युद्धमा ल्याउने नेतृत्वले उनीहरूको परिवार र देशका लागि काम गरेर देखाए मात्रै उनीहरूप्रतिको सम्मान हुने बताए। 

उनले नेपालको गरिबी अन्त्य गर्ने, जनयुद्धमा सहादत प्राप्त गरेका शहीदको सम्मान हुने, उत्पीडित जनताले सुख पाउने गरी देश समृद्ध हुने नीति ल्याए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काम सही रहेको ठहर हुने बताए। 

सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने तर बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको टिप्पणी गर्दै सांसद पौडेलले अहिले दिइँदै आइएका बिदाहरू पनि आधा घटाउनुपर्ने बताए।

“सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने र कुनै दिन बिदा दिएर शहीदलाई सम्झने कुरा गलत हो। राष्ट्रिय बिदा आधा घटाउनु पर्छ। जनयुद्ध दिवसलगायत अन्य दिनमा दिइएका थुप्रै बिदा कटौती गर्नुपर्छ,” उनले भने।

सांसद पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको दिनमा दिएको बिदाको विरोध गर्ने कुरामा कुनै तुक नरहेको जिकिर गरे।