विश्व बैंकले नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा वृद्धिमा जोड दिन र वैदेशिक लगानी आकर्षण गर्न नीति परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ।
काठमाडौँ– विश्व बैंकले आगामी वर्षहरूमा नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाने जनाएको छ। बिहीबार काठमाडौँमा दक्षिण एशियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो बताएको हो।
सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले त्यसपछिका वर्षहरूमा क्रमशः बढ्दै जाने प्रक्षेपण गरेको हो। आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्कँदो उत्साह र मौद्रिक नीतिमा क्रमशः गरिएको खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ। सन् २०२५ मा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बिस्तार हुने अनुमान छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एशियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले आगामी वर्षहरूमा आर्थिक वृद्धि हुँदै जाने बताए। उनले नेपालमा उच्च आर्थिक सम्भावना रहेको र नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकोमा खुशीसमेत व्यक्त गरे। विश्व बैंकले विश्वसनीय तथ्यांकका आधारमा प्रतिवेदन तयार पारेको समेत उनले जानकारी दिए।
विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एशियाली विकास अपडेट सार्वजनिक गर्दै दक्षिण एशियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिसहरू प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा लगाइएको प्रतिबन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताइन्। विश्व बजारको उत्पादन र सेवाले समेत असर पारिरहेको उनको भनाइ छ।
त्यसैगरी दक्षिण एशियाका अधिकांश देशमा निजी लगानी कमजोर अवस्थामा रहेको भन्दै उनले वित्तीय चुनौती बढ्दै गएको बताइन्। उच्च ऋण तथा न्यून आयको समस्या रहेको भन्दै उनले वित्तीय नीतिहरू धेरै बाध्यकारी हुन नसकेको समेत बताइन्।
विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोसीले नेपाल अपडेटबारे प्रस्तुतीकरण दिँदै नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताए। गतवर्ष प्रसारण प्रणालीमा ५०० मेगावाट विद्युत् थपिएको र नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको जानकारी दिँदै यसले अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्ने उल्लेख गरे।
उनका अनुसार थोक र खुद्रा व्यापारमा आएको सुस्तता कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई गतिलाई सुस्त बनाएको छ। त्यसै, सन् २०२३ मा औसत: उपभोक्ता मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको भन्दै उनले आयातमा आएको कमी र उच्च रेमिट्यान्स भित्रिँदा चालु खाता घाटा ६ वर्षयताकै न्यूनस्तरमा रहेको समेत उल्लेख गरे।
नेपालमा अनिश्चित रूपमा हुने वर्षाले कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामललगायत खाद्यान्न निर्यातको लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्ने पनि उनले औँल्याए। यसले पुनः चालु खाता घाटा बढ्न सक्ने जोसीको भनाइ छ। उनका अनुसार वस्तु तथा सेवाको निर्यात निरन्तर रूपमा घटिरहेको छ। उनले नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिन, वैदेशिक आकर्षण गर्न आफ्ना नीति परिवर्तन गर्नुपर्ने सुझाव दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
