गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

मुख्यमन्त्री पोखरेलले आफ्नै पार्टी (नेपाली कांग्रेस)बाट सरकारमा सहभागी मन्त्री खड्कालाई बर्खास्त गरेका छन्।

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री पोखरेलले आफ्नै पार्टी (नेपाली कांग्रेस)बाट सरकारमा सहभागी मन्त्री खड्कालाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्तीको जानकारी प्रदेश प्रमुखलाई गराइसकिएको उकालोलाई बताए।

खड्कालाई पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। खड्का कास्की क्षेत्र नम्बर २ 'ख' बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न प्रयासरत थिए। तर, कांग्रेसले बिन्दुकुमार थापालाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए। उनलाई कांग्रेस समानुपातिक सूचीमा पनि राखेको छैन।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई असहयोग गरेको भन्दै उनलाई मुख्यमन्त्री नेपालीले बर्खास्त गरेका थिए।

लगत्तै गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरि कार्यविभाजन गरेको सूचना जारी गरेका छन्। मुख्यमन्त्री नेपाली ऊर्जासँगै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन्।