नेपाल एयरलाइन्सले अस्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको बताए।

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अस्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए।

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चार वटा संस्थाबीच बिहीबार समझदारीपत्र (एमओय) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अस्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गरे।

“निगमले सिड्नीको उडानका लागि धेरै काम गरिसकेका छौँ, तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिड्नी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै हामी लक्ष्यमा पुग्न सफल हुनेछौँ”, उनले भने।

अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको बताए। उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजन रहेको उनले उल्लेख गरे।

नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँचो औँल्याए।

राष्ट्रिय दायित्वलाई ध्यानमा दिएर दुर्गम भेगमा उडान गर्ने तीनवटा ट्वीनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने उनले विश्वास व्यक्त गरे। निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजनामा रहेको बताए।

निगम र निजी क्षेत्रका चार संस्थाबीच निगमको सहकार्य
निगमले व्यावसायिक साझेदारी बढाउने उद्देश्यले निजी क्षेत्रका विभिन्न चार वटा संस्थासँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र ती संस्थाका अध्यक्षले सहकार्यसम्बन्धी समझदारीपत्रमा छुट्टाछुट्टै हस्ताक्षर गरेका हुन्।

निगमले नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल संस्था, नेपाल युवा उद्यमी परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, ती संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्द्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय ध्वजावाहकको सेवालाई आधुनिकीकरण गर्दै गन्तव्य विस्तार गरेर लैजानुपर्नेमा जोड दिए। राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट कुशकुमार जोशीले देशको गौरव र पहिचान नेपाल वायुसेवा निगमको शाखालाई बलियो बनाएर व्यावसायिक सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिए।

नेपाल युवा उद्यमी परिसंघका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ र परिसंघ कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले निगमको व्यावसायिक प्रवर्द्धनमा युवा उद्यमीले भूमिका खेल्ने विश्वास व्यक्त गरे। निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रको साझेदारीले निगमको व्यवसाय प्रवर्द्धन हुने बताए।