साबिककै विद्यालयमा फर्किए शिक्षक ब्रह्मदेव पासवान

जीतपुरसिमरा उपमहानगरको कार्यालयमा भएको छलफलपछि शिक्षक ब्रह्मदेव पासवानलाई साबिकै विद्यालयमा पठाउने निर्णय गरिएको हो।

काठमाडौँ– शिक्षक ब्रह्मदेव पासवान साबिकै विद्यालयमा फर्किएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–२, बाराको नेपाल राष्ट्रिय (नेरा) माध्यमिक विद्यालय सिमराबाट उपमहानगरपालिकाले उनलाई भदौ १८ वडा नम्बर २४ को हरपुरस्थित नेपाल राष्ट्रिय माविमा सरुवा गरियो। सरुवा र रमानापत्र लिएर असोज ८ गते हरपुर पुगेका शिक्षक पासवानलाई विद्यालयले हाजिर गराएन।

हरपुरका प्रधानाध्यापक प्रदीपकुमार गुप्ता, वडाध्यक्ष सुल्ताङ अन्सारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इलियास देवानले हाजिर गर्न नदिएपछि उनी उपमहानगरपालिकाको कार्यालयमै हाजिर गर्दै आएका थिए।

बिहीबार उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलपछि शिक्षक पासवानलाई साबिकै विद्यालयमा पठाइएको हो। उपमहानगरपालिकाले साबिककै विद्यालयमा पठाएपछि शिक्षक पासवानले खुशी व्यक्त गरेका छन्। “अब यही विद्यालयबाट बिदा हुने भएँ, खुशी छु। आज (बिहीबार) स्कुल गएर हाजिर पनि गरेँ,” उनले भने।

बुधबार उकालोमा ‘इच्छाविपरीत स्थानीय तहको सरुवामा पर्दा बेवारिसे बनेका शिक्षक ब्रह्मदेव’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल भने आफ्नो उद्देश्य जीतपुरसिमराको शैक्षिक अवस्था सुधार गर्ने भएको र शिक्षकलाई दुःख दिने नियत नभएको बताए।

“समाचारमा आएजस्तो नियतवश शिक्षक ब्रह्मदेवलाई सरुवा गरिएको होइन। धेरै जनाको सरुवा गर्दा उहाँ पर्नुभएको हो,” मेयर पौडेलले भने, “हाम्रो उद्देश्य समग्र जीतपुरसिमराको शैक्षिक अवस्था सुधार गर्नु हो, कोही शिक्षकलाई दुःख दिने नियत होइन। हामीले बिहीबार सिमराका वडाध्यक्ष, व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसँग छलफल गरेर उहाँलाई साबिककै विद्यालयमा पठाएका छौँ।”