शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाउँदै व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ बनाएको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको १२ करोड रुपैयाँको सीमा बढाएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो। 

यसअघि शेयर धितो कर्जाका रूपमा समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो। त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ बनाइएको छ।

“कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृत्तिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ”, राष्ट्र बैंकले जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ, “धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ।” 

त्यस्तै, निर्देशिकामार्फत वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने बनाइएको छ।