युक्रेनमा रुसको आक्रमण, ५१ जनाको मृत्यु

कुपियान्स्क शहरबाट आक्रमण भएको स्थान ३० किलोमिटर दूरीमा छ। जहाँ युक्रेनले युद्धका क्रममा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।

तस्वीर: एपी

युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रुसी आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ। 

बिहीबार भएको उक्त रकेट आक्रमणमा क्याफे र स्टोर गाउँ भग्नावशेषमा परिणत भएको समाचार संस्था एपीले जनाएको छ। 

एक जना मृतक स्थानीयको सम्झनामा श्रद्धाञ्जलीसभा भइरहेको स्थानमा आक्रमण भएकाले ठूलो क्षति भएको गृहमन्त्री इगोर क्लाइमेन्कोले बताए। उनका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा छ वर्षीय बालकदेखि ज्येष्ठ नागरिकसम्म रहेका छन् । 

युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन्। यो पछिल्लो महिनाकै सबैभन्दा घातक हमला भएको उनको भनाइ छ। 

युक्रेनका सहयोगीबाट समर्थन जुटाउन स्पेनमा ५० युरोपेली नेताहरूको शिखर सम्मेलनमा भाग लिएका जेलेन्स्कीले यस आक्रमणलाई आतंकवादको कार्य भनी निन्दासमेत गरेका छन्।

अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट सो क्षेत्र ३० किलोमिटर दूरीमा अवस्थित छ। जहाँ युक्रेनी सेनाले रुसी सेनासँगको लडाइँमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।