बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङमा गत मंगलबार ठूलो भूपम्प गएयता निरन्तर स–साना पराकम्पहरू भइरहेका छन्। भूकम्पमा एक जनाको मृत्यु भएको थियो।

तस्वीर सौजन्य: ललितसिंह ठकुरी

काठमाडौँ– बझाङको चैनपुर केन्द्रबिन्दु भएर बिहीबार राति दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत मंगलबार दिउँसो २ः४० बजे बझाङकै तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि सोही दिन लगातार चार पटक भूकम्प गएका थिए। दोस्रोपटक ३ः०६ बजे चैनपुर केन्द्रबिन्दु भएर ६.३, ३ः१३ बजे ४.१ तथा ३ः४५ बजे सुर्मा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प भएको थियो। उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो। दर्जनौँ व्यक्ति घाइते भएका छन्।

बिहीबार रातिको धक्का मंगलबार कै भूकम्पको पराकम्प रहेको केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी बताउँछन्।  “विगत ५०० वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,” डा. अधिकारी भन्छन्, “नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्छ।” 

नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।