एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’मा १६५ जना निर्वाचित भएका छन्।

काठमाडौँ– नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्।

बिहीबार राति सम्पन्न मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन्। 

शर्माले ५३१ र ३६५ मत प्राप्त गरे। म्याग्दी निवासी शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्ष थिए। 

यस्तै, उपाध्यक्षमा ५३४ मतसहित मीनप्रसाद गुरुङ विजयी भए। उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले ३७२ मत प्राप्त गरे।

सचिवमा धनञ्जय दवाडी ५२० सहित विजयी भए। उनका प्रतिस्पर्धी रश्मि आचार्यले ३६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए। 

उपसचिवमा ४९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले ३९७ मत प्राप्त गरे।

उपसचिव महिलातर्फ ५३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भइन्। उनका प्रतिस्पर्धी मिना गुरुङले ३६५ मत प्राप्त गरिन्। बिहीबार भएको निर्वाचनमा ८९६ जनाले मतदान गरेका थिए।

अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’मा १६५ जना उम्मेदवार निर्वाचित भएका छन्।