सांसदहरू भन्छन्ः चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन

चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्।

काठमाडाैँ– चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताइन्। उनले मिटरब्याज पीडितहरूलाई पनि सरकारले थप पीडाबाहेक अरु केही दिन नसकेको भन्दै आक्रोश व्यक्त गरिन्।

सांसद चौधरीले भनिन्, "अहिले चाडबाडका बेला कालोबजारी हुन्छ। बजारमा सामान छ, उसले लुकाउन खोज्छ, चाडपर्वमा महँगो गरी बेच्नका लागि। यसको अनुगमन सरकार पक्षले तदारुकताका साथ गर्नुपर्ने काम सरकारले गरेको छैन। त्यसरी नै अहिले मुलुकको संहिताअन्तर्गत मिटरब्याज पीडितहरू झन् पीडामा परेको अवस्था छ।"

चाडबाडका बेला सार्वजनिक सवारीसाधनले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सांसद विमला सुवेदीले सरकारको ध्यानाकर्षण गराइन्। उनले समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराइन्।

"चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, सवारी भाडामा यात्रुहरूमाथि ठगी हुने गरेको छ। बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु," सांसद सुवेदीले भनिन्। 

यस्तै, सांसद रघुजी पन्तले दशैँको पेस्कीमा महँगी आएकाले गरिबको दशैँ यसपालि कसरी टर्छ भन्दै सरकारसँग प्रश्न गरेका छन्।

उनले भने, "दशैँको पेस्कीमा महँगी आयो, सरकारका घर उज्यालो होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो। आउन लागेको दशैँ सम्झेर जनता मुर्छा परेका छन्। गरिबको दशैँ यसपालि कसरी टर्छ जवाफ देऊ सरकार।"