सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन हमला, कम्तीमा १०० जनाको मृत्यु

एक दशकभन्दा लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। अहिले तत्कालै कुनै पनि विद्रोही समूहले हमलाको जिम्मा लिएका छैनन्। 

सिरियाको होम्स शहरमा आयोजित सैनिक अधिकृतको दीक्षान्त समारोहका क्रममा ड्रोन हमला हुँदा एक सयभन्दा धेरैको मृत्यु भएको छ। बिहीबार साँझ भएको उक्त हमलामा २०० भन्दा धेरै घाइते भएको बताइएको छ। 

सैनिक अधिकृतसहित उनीहरूका परिवार सहभागी रहेको समारोहमा विष्फोटक पदार्थले भरिएको ड्रोन हमला भएको बीबीसले जनाएको छ। उक्त ड्रोन होम्स शहरको उत्तर पश्चिम क्षेत्रबाट पठाएको हुन सक्ने बताइएको छ। 

दीक्षान्त समारोह सकिएपछि सबैजना भेला भएको समयमा आक्रमण भएको हो। मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्। सिरियाका रक्षामन्त्री पनि उक्त समारोहमा सहभागी थिए। तर, उनी गएलगत्तै आक्रमण भएको थियो। 

एक दशकभन्दा लामो समयदेखि सिरियामा गृहयुद्ध चलिरहेको छ। अहिले तत्कालै कुनै पनि विद्रोही समूहले त्यो हमलाको जिम्मा लिएका छैनन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यो आक्रमणप्रति दु:ख व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।