देशलाई ठीक ठाउँमा लैजान शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले शिक्षाप्रणालीको खराबी र यसमा भएको व्यापारका कारण देश दुर्दशामा फसेको दाबी गरे।

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले शिक्षामा व्यापारीकरणका कारण देशको अवस्था कमजोर भएको आरोप लगाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले देश दुर्दशामा फस्नुको कारण शिक्षाप्रणालीको खराबी र यसमा भएको व्यापार रहेको दाबी गरे। शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा नलिने देशको विकास पनि नहुने उनको तर्क थियो।

“हामी सबैलाई महसुस भएको छ। आज देशको यो दुर्दशा हुनुको कारण नै शिक्षा प्रणालीमा भएको खराबीले हो। तर मुख्य खराबी के भने शिक्षामा व्यापार भयो। शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा जुन देशको सरकारले लिँदैन, त्यो देशको कति विकास भएको छ?”

उनले शिक्षामा निजीकरण, व्यापारीकरण गरेकालाई नै निजीक्षेत्रले आफू अनुकूलको मन्त्रीसम्म बनाउने गरेको भन्दै आपत्ति जनाए। देशलाई ठीक ठाउँमा लैजानका लागि शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने उनको भनाइ छ।