प्रधानमन्त्रीले गरे भूकम्प प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्‍याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको अवस्थाको बुझ्न बझाङ पुगेका छन्।

शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका उनले भूकम्पबाट भत्केका संरचनाको अवलोकन गरेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले भूकम्पपीडितसँग कुराकानी गरी उनीहरूको अवस्थासमेत बुझेका थिए।

प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नुका साथै पीडितलाई आवश्यक राहत पुर्‍याउन स्थानीय निकायलाई निर्देशनसमेत दिएको उनको सचिवालय जनाएको छ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजीलगायतले पनि भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका थिए। चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री, मन्त्रीहरू लगायतसँग अन्तर्क्रिया गर्नुका साथै सहयोग हस्तान्तर गरेका थिए। 

पछिल्लो समय नेपालको सुदूरपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दोस्रो पटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ भ्याग्निच्यडको भूकम्प गएको थियो। त्यसपछि पनि पटक–पटक भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। यस्तै, सयौँ घरमा क्षति पुगेको थियो। भूकम्पले घरमा क्षति पुर्‍याएपछि पीडितहरू पाल टाँगेर बस्न बाध्य भएका छन्।