इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरिएको छ।

काठमाडौँ– यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीले पाउने भएकी छिन्। नोबेल पुरस्कार समितिले महिलामाथि हुने दमनविरुद्ध गरेको संघर्षका लागि इरानकी अधिकारकर्मी नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको जनाएको हो। 

‘इरानमा महिलामाथि शोषणविरुद्ध संघर्ष र सबैका लागि मानवअधिकार प्रवर्द्धनमा उनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको समितिले उल्लेख गरेको छ। 

नोबेल शान्ति पुरस्कार घोषणा भएकाले बेला मोहम्मदी जेलमै छन्। राज्यविरुद्धसहितका विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएकी उनी अहिले तेहरानको एभिन जेलमा छिन्। 

 उनी यसअघि बीबीसीका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी थिइन्। उनले इरानी जेलमा कैदीलाई राख्ने तरिका र महिलामाथि हुने दुर्व्यवहारविरुद्ध पनि खुलेर आवाज उठाउँदै आएकी छन्। 

धेरै चुनौती र जेल सजायको सामना गर्दा पनि उनले मानवअधिकार र प्रजातन्त्रका लागि आफ्नो संघर्ष जारी राखेकी छन्।

उनी सन् २००३ मा नोबेल पुरस्कार जितेकी सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन्। नोबेल शान्ति पुरस्कारको १२२ वर्षको इतिहासमा यो पुरस्कार जित्ने उनी १९ औँ महिला हुन्। करिब १० लाख डलरको यो पुरस्कार डिसेम्बर १० मा नर्वेको ओस्लोमा वितरण गरिनेछ।