अस्थायी आवास बनाउन भूकम्पपीडितलाई ५० हजार दिने प्रधानमन्त्रीको घोषणा, मृतक परिवारलाई तत्काल २ लाख दिइने

बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि राहतको घोषणा गरेका हुन्।

काठमाडौँ– भूकम्पपीडितको अवस्था अवलोकन गर्न बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रकम उपलब्ध गराउने घोषणा गरेका छन्। 

शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात् राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक राहतको घोषणा गरेका हुन्। साथै, उनले भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिने पनि घोषणा गरेका छन्।

सरकारले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहत स्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने भएको छ। भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकिन गरी त्यसका आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने भन्ने निर्धारण गरी कामहरू अगाडि बढाइने भएको छ।

त्यस्तै, पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको र यस्ता सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने, भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइने भएको छ। प्रधानमन्त्री दाहालले सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको यकिन गरी यथाशीघ्र पुनः निर्माण गरिने प्रतिबद्धता जनाएका छन्।