विश्वप्रकाश शर्मा भन्छन्– पीडित परिवारले चाहे मात्र कैद मिनाहा पाउने कानून बनाऔँ

कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानून बनाउनुपर्ने बताएका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका हुन्। पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपतिसमक्ष पुगेर गरेको अनुरोधका आधारमा माफी दिन सकिने उनको भनाइ छ।

“कसैलाई माफी दिने हो भने त्यो परिवारकै सदस्यलाई बोलाएर सोधौँ। त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफी दिन? माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिउँ। माफी दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफी दिने कुरा गलत हुन्छ,” उनले‍ भने। तर धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने उल्लेख गरे।

उनले नेपालगन्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैधता दिनु नहुने बताए। उनले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहीनता बढेर जाने बताए।

महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताए। उनले सरकारले जिम्मेवार भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरू रोकिने उल्लेख गरे।

उनले संसद्मा हुने सांसदहरूको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताए। राजनीतिकर्मीहरू आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने उनको भनाइ छ।