नेपालका लागि पाकिस्तान कठिन प्रतिस्पर्धी : कार्यवाहक प्रशिक्षक कटुवाल

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि काठमाडौं उत्रिएको हो।

तस्वीर : अमित मचामसी/उकालो

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तान कठिन प्रतिस्पर्धी रहेको बताएका छन्। बुधबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै उनले पाकिस्तानले लामो समय नखेलेको भए पनि नेपालका लागि कठिन प्रतिस्पर्धी हुने बताएका हुन्।

“फुटबलको सर्वोच्च निकाय फिफाले उनीहरूलाई प्रतिबन्ध लगाएको थियो। तर, उनीहरूको खेलाडी विदेशमा गएर खेलिरहेका थिए। उनीहरू विदेशमा खेलेर धेरै राम्रो हुँदै गइरहेका छन्। त्यसैले हाम्रो लागि पाकिस्तान कठिन प्रतिस्पर्धी हुने छ,” उनले भने।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि काठमाडौं उत्रिएको हो। पाकिस्तानले नेपालसँग दुई खेल मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो। तर, नेपाल एक खेल्न राजी भएको हो।

पाकिस्तानले प्रतिबन्धको समयमा एक टिम भएर नखेलेको फाइदा आफूले उठाउने प्रशिक्षक कटुवालले बताए। “प्रतिबन्धको समयमा उनीहरूक खेलाडी एक टिम बनेर खेलेका थिएनन्। उनीहरूको टिम वोर्क हुन पाएको छैन। त्यही कमजोरीको फाइदा हामीले उठाउने छौँ,” उनले भने।

टोलीका कप्तान रोहित चन्दले पनि पाकिस्तानले लामो समय नखेलेको भए पनि नेपालका लागि कठिन प्रतिस्पर्धी रहेको दोहोर्‍याए। “हाम्रो तयारी राम्रो छ। तर, नेपालका लागि पाकिस्तान सधैँ कठिन प्रतिस्पर्धी हुने गरेको छ,” उनले भने,“मैले यसलाई धेरै ठूलो कुराको रूपमा लिएको छैन। हामी आफ्नो उत्कृष्ट दिन्छौँ।”

पाकिस्तानविरुद्धको खेल घरेलु मैदानमा नेपालको लागि ५०औँ खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे शुरू हुनेछ। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो। नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हो। 

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ४ खेल जितेको छ भने ७ मा हार बेहोरेको छ। ५ खेलमा भने बराबरी सकिएको छ। नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो। साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो।