पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ: ओली

सहमतिका माध्यमबाट कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने एमाले अध्यक्ष ओलीको भनाइ छ। 

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन्।

विपक्षी र सञ्चारमाध्यमले प्रदेश अधिवेशनमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताएका हुन्। पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले कुरा मिलेन भने ‘स्वस्थ प्रतिस्पर्धा गर्नुस्’ भनेर आफूले प्रदेश अधिवेशनहरूमा भनेको कुरालाई ख्याल नगरिएको गुनासो गरे। 

उनले आफ्नै साथीको मन दुख्ने भएकाले निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क गरे। कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने ओलीको भनाइ छ। उनले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए।

“सहमति गर्‍यो भने मन दुख्दैन। मन नदुखाईकन अगाडि बढने काम सबभन्दा राम्रो हो नि त। किन मन दुखाउने? उठेपछि मन दुख्दो रहेछ। यसो म ठाउँठाउँमा हेर्छु। उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ। त्यस्तो पनि नगरौँ,” उनले भने।

अध्यक्ष ओलीले नेतृत्वले गरिरहेको मूल्यांकनलाई बेवास्ता गर्दै नचिनेका मान्छेले नचिनेकालाई भोट दिनुपर्ने अवस्थामाथि भर परिए परिणाम जस्तो पनि आउन सक्ने भन्दै सहमतिमा नेतृत्वको चयन गर्न नेता–कार्यकर्ताहरूलाई सुझाए। उनले आफूले पार्टीको प्रदेश अधिवेशनहरूमा सहमतिमै नेतृत्व चयन गर्न कुनै पनि खालको निर्देशन नदिएको पनि दोहोर्‍याए।