सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने उल्लेख गर्दै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

मकवानपुर– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन्। 

पार्टीको मेची–काली अभियानअन्तर्गत शुक्रबार हेटौँडामा आयोजित जनसभामा अध्यक्ष नेपालले नागरिकका समस्या समाधान गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्रमुख कार्ययोजनाका रूपमा पार्टीले अघि बढाएको बताए। 

उनले नागरिकमाझ आफ्ना नीति तथा ‘अजेन्डा’ स्थापित गर्दै देश विकासका निम्ति सबैसँग सहकार्य गर्न तत्पर रहेको बताए। 

अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने बताउँदै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भने। 

सरकारले गरेका कामबारे जानकारी गराउन र पार्टीलाई आम नागरिकसँग जोड्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिए। 

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा तहमा पुर्‍याउनुपर्नेमा जोड दिए। विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि नागरिक केन्द्रित गर्नुपर्छ भने।