जाडो र चाडबाड शुरू भएसँगै बेँसी झर्न थाले भेडीगोठ

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि भेडा लिएर लेकबेँसी गर्नु परम्परा जस्तै बनेको छ। यहाँ एकै परिवारले एक हजारसम्म भेडा पाल्दै आएका छन्। 

ढोरपाटन– गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेँसी झर्न थालेका छन्। बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायत क्षेत्रमा यतिबेला खर्कबाट झर्दै गरेका भेडाबाख्राका बथान देख्न सकिन्छ।  

लेकमा जाडो शुरू हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड झारिएको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए। जेठ पहिलो साता लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेँसी झारिएको हो। बर्खामा औलमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठालाहरू हरेक वर्ष लेकबेँसी गर्ने गर्छन्।

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेँसी गर्नु परम्परा नै हो। एकै परिवारले २०० देखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन्। गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र झर्ने गर्छन्। बेँसीभन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने बुढामगरको भनाइ छ। यसैगरी भेडाबाख्रा बिक्री गर्ने सिजनसमेत भएको हुँदा गोठालाहरू बजारतिर लाग्ने गर्छन्।

भेडा बिक्रीका लागि कोही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवल र कोही गलकोट, बागलुङ, पर्वतको कुस्मा हुँदै पोखरासम्म जाने तयारीमा छन्। 

लेकमा हिमपात र जंगली जनावरको पनि जोखिम हुने गरेको छ। चैत अन्तिम साताको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बुढामगरले बताए। चिसोले भेडा मरेपछि एक सातामा साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनले बताए।  

“भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले छिटो झारेको हुँ,” उनले भने, “अब बेच्न लैजान्छु।”

अर्का भेडापालक बलबहादुर घर्तीमगरले यसवर्ष भेडा बेँसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए। असोज ११ मा खर्कबाट हिँडे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ। करिब चार हजार ७०० मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले सुनाए। उनीसँग अहिले ७० वटा बाख्रा र १०० भेडा छन्। 

स्थानीय कुलबहादुर विक पछिल्लो समय भेडापालन गर्नेको संख्या कम हुँदै गएको बताउँछन्। आफूहरूले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चासो नदिँदा घटेको उनको भनाइ छ। पहिले आफूले ८०० वटासम्म भेडा पालेको ६७ वर्षीय विकको अनुभव छ। अहिले १५० हाराहारीमा मात्रै छन्।