चंगा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ।
काठमाडौँ– नेवारीमा ‘भुटुमाली’ र हिन्दीमा ‘पतङ’ भनिने कागज, कपडा र प्लास्टिकको चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना, जसलाई नेपाली शब्दकोशमा चंगा भनिएको छ। असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चंगा उडाएर इन्द्रदेवलाई सन्देश पठाएको भन्ने जनविश्वास छ।

दशैँ आउन केही अघिदेखि नै चंगा उडाइँदै आएको पाइन्छ। चंगाको आविष्कार चीनमा भएको मानिन्छ। त्यसपछि एशियाका अन्य देशहरूमा लोकप्रिय बन्यो। सबै देशले आफ्नो चाड या खुशीयाली साट्न चंगा उडाउँदै आएका छन्। नेपालमा पनि धार्मिकसँगै मनोरञ्जन र हर्ष उल्लासका बेला चंगा उडाइने गरिन्छ। यसमा मुख्यगरी चंगा, लट्टाइ र धागोको आवश्यकता हुन्छ।

नेपालमा चंगा भारतबाटै आउने गर्छ। पछिल्लो समय यता लट्टाइ भने नेपालमा नै बनाउने गरिएको व्यापारीहरू बताउँछन्। ललितपुरका प्रकाश देउला सानै उमेरदेखि चंगा उडाउन मन पराउँथे। २५–३० वर्ष अघिदेखि माटोको कलात्मक सामग्री बेच्दै आएका उनी केही वर्ष यता चंगाको व्यापार गर्दै आएका छन्।
नेपाली उत्पादनलाई जोड दिएका प्रकाशले पसलमा चंगा बाहेक माटोबाट बनेका भाँडा, हातले बनाएको कुचोलगायत राखेका छन्। यससँगै पाँच वर्ष अघिदेखि उनले दशैँ तिहारलक्षित चंगाको व्यापार शुरू गरे। तर, उनी हिजोआज नेपालीको चंगाप्रति मोह घटेको देखेर निराश छन्।

“पहिले दशैँको एक महिना अघिदेखि नै काठमाडौँ, ललितपुर र भक्तपुरको आकाश पुरै ढाकिने गर्दथ्यो,” उनी भन्छन्, “अहिले दशैँको दिन पनि गन्तीमा उड्ने गर्छ।” अहिले मानिसहरू मोबाइलमा व्यस्त भएकाले चंगा संस्कृति हराउँदै गएको उनको भनाइ छ। “चंगा न बच्चा न बुढो सबैले उडाउन मिल्ने खेल हो। तर, अहिले सबैजना मोबाइल इन्टरनेटमा व्यस्त छन्,” उनले भने, “युवाहरू विदेश पलायन भएको कारणले पनि चंगाप्रति मोह घटेको छ।”
ग्वार्कोमा अन्य चंगा पसलहरूको अवस्था पनि उस्तै छ। भदौको पहिलो हप्तादेखि स्टेसनरी उपहार पसलहरूले फाट्टफुट्ट लिन आउने भए पनि पहिले जस्तो व्यापार नभएको व्यापारीको भनाइ छ। नेपाली बजारमा चंगा १० देखि एक हजार रुपैयाँसम्म पर्छ। त्यस्तै लट्टाइ ४० देखि तीन हजार रुपैयाँसम्म पर्छ।

काठमाडौँमा मात्र एक सिजनमा २५ देखि ३० करोडको चंगा र यसका अन्य सामग्री आयात हुने गरेको तथ्यांक छ। चंगा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ। काठमाडौँ टेकुका सुमन मानन्धर दशैँको समयमा कौसीमा बसेर साथीभाइसँग चंगा चेट गर्दै आएका थिए।
तर केही वर्षयता उनको चंगा घरमा थन्किएको छ। “घरमा बसेर कौसीबाट अरूको चंगा काट्न मज्जा आउँथ्यो,” उनले भने, “अहिले कता उडाएको छ भनेर खोज्न हिँड्नुपर्ने भएको छ।” पछिल्लो समय साथीहरू इन्टरनेटमा मज्जा लिने भएकाले पनि चंगा खेल्न आउन छाडेको उनले बताए।

अबको केही वर्षमा चंगा उडाएको देख्न नै नपाइने हो कि भन्नेमा उनी चिन्तित छन्। पछिल्ला वर्षमा केही बाल क्लब, संस्थाले दशैँ नजिकिँदै गर्दा चंगा चेट कार्यक्रम राखेर संरक्षणमा लागेको पाइन्छ। काठमाडौँ उपत्यकामा विशेषगरि अग्ला स्थान र खुल्ला ठाउँहरूमा चंगा उडाउन जाने गर्छन्। कीर्तिपुरको चोभार, ललितपुरको लाँकुरी भन्ज्याङ, भक्तपुरको नगरकोटलगायत स्थानमा चंगा उडाउन जाने चलन छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
