कोशी प्रदेश मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।

काठमाडौँ– कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन्। गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन्।

माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। “दलहरूको आन्तरिक बैठकले गरेको निर्णय गठबन्धन दलको संयुक्त बैठकले पनि अनुमोदन गरेको हो। यति बुझौँ न गठबन्धन दलले अहिलेको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ,” उनले भने।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। यसअघि सरकारमा रहेको नेकपा माओवादी केन्द्र बाहिरिएपछि कार्कीले विश्वासको मत पाउन सकेका थिएनन्, जसका कारण उनी बाहिरिनु परेको थियो।

त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्धव थापाले दुई–दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ति तथा विश्वासको मत सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो। 

उक्त आदेशबाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले शनिबार विश्वासको मत लिन लागेका हुन्। ९३ सदस्यीय रहेको कोशी प्रदेशमा विश्वासको मतका लागि ४७ मतको आवश्यक पर्छ। एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ। अन्य दलबाट थप मत प्राप्त गर्नुपर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन्।

मुख्यमन्त्री कार्कीले दलहरूलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेका छन्। विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन्। त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया शुरू हुनेछ।