दशैँ मनाउन घर फर्किँदा एमाले कार्यकर्ताको उद्देश्य अरूको भन्दा फरक हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्। नेकपा एमालेले शनिबार आयोजना गरेको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले अरू र एमालेका कार्यकर्ता दशैँ मनाउन घर फर्किँदा अरूको भन्दा फरक उद्देश्य लिएर जानुपर्ने बताएका हुन्।

“एमाले घर फर्किएको र अरू दशैँ मनाउन घर जानुमा फरक हुनुपर्छ। हामी यतिबेला पनि भ्रमको तुवाँलो हटाउने कसरी, सत्यको दियो जलाउने कसरी, नपुगेका स्थानमा प्रकाश पुर्‍याउने कसरी, असंगठित मानिसलाई संगठित गर्ने कसरी, यो चाडलाई बत्तीको चाड भनिन्छ, यो चाडमा दियो मात्रै होइन चेतनाको दियो भने बाल्ने चाडको रूपमा परिवर्तन गर्न थोरै भए पनि प्रयास गरौँ,” उनले भने।

उनले जुवातास खेलेर समय बर्बाद नगर्न पनि उनले नेता–कार्यकर्तालाई सचेत गराए। चाडपर्वको समयमा नराम्रो काम गर्नुभन्दा सामाजिक सद्भावका कुरा गर्दा उचित हुने उनको सुझाव थियो। उनले विरोधीले सत्य सुन्नै नचाहेको भन्दै सत्यतथ्य उजागर गर्नु पार्टीका कार्यकर्ताको दायित्व भएको जिकिर गरे।

“समाज ठीक ठाउँमा लानका लागि राजनीति आवश्यक छ, तर जनताको, देशको र मानवजातिको सेवा र सत्यतथ्यको निष्ठा त्यो कुरा राजनीतिमा हुनुपर्छ। कोही–कोही इमानदार हुन्छन्, कोही–कोही हुँदैनन्। त्यो नछुट्टाईकन सबै बेइमान हो भनेर भन्न मिल्दैन। समाजलाई हानि पुर्‍याउने काम नगरौँ, यसले आफ्नै प्रतिष्ठानलाई हानि हुन्छ,” उनले भने।