तेल अवीवस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
काठमाडौँ– प्यालेस्टाइनी इस्लामिक समूह हमासले इजरायलमाथि गरेको घातक आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार गाजापट्टीबाट भएको रकेट आक्रमणमा परी २२ जनाभन्दा बढीको मृत्यु भएको हो।
आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबारको आक्रमणपछि इजरायल युद्धमा रहेको र आतंककारी समूहले अभूतपूर्व मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्, “इजरायलका नागरिकहरू, हामी युद्धमा छौँ। यो कुनै अपरेसन होइन। आज बिहान हमासले इजरायल र यहाँका नागरिकविरुद्ध एक अचम्म लाग्दो घातक आक्रमण शुरू गरेको छ।”
हमासले इजरायलमा हजारौँ रकेट प्रहार गरेपछि र दर्जनौँ बन्दुकधारीहरूले इजरायलमा आक्रमण गरेपछि शुरू भएको झडपको केही घटनापछि तेल अवीवस्थि इजरायल रक्षा बलको मुख्यालयमा खिचिएको प्रधानमन्त्री नेतन्याहुको भिडियो सन्देश स्थानीय समयअनुसार ११ बजे पोस्ट गरिएको थियो।
टाइम्स अफ इजरायलका अनुसार कम्तिमा २२ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा सयौँ घाइते भएका छन्। गाजा क्षेत्रबाट थप हताहतको रिपोर्ट आएको पनि उल्लेख गरिएको छ। त्यहाँ इजरायल डिफेन्स फोर्स (आईडीएफ) र आतंककारीबीच अझै गोलीबारी जारी रहेको समाचारमा उल्लेख छ।
एपी न्युजका अनुसार दक्षिणी इजरायली शहर बेरशेबामा रहेको सोरोका मेडिकल सेन्टरले कम्तिमा २८० घाइतेको उपचार गरिरहेको र ६० जनाको अवस्था गम्भीर रहेको जनाएको छ।
प्रधानमन्त्री नेतन्याहुले सुरक्षा संगठनका अधिकारीहरूलाई बोलाए आतकंकारी प्रवेश गरेका शहरी क्षेत्रहरू खाली गर्नका लागि निर्देशन दिएको पनि उल्लेख गरेका छन्।
मध्य तथा दक्षिण इजरायलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो। यसबाहेक हमासले पाँच जना आईडीएफका सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ। आईडीएफले भने त्यसको पुष्टि गरेको छैन। हमासको आक्रमणपछि आईडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ।
रक्षामन्त्री योभ गालान्टले पनि इजरायलले युद्ध जित्ने दाबी गरेका छन्। “इजरायलविरुद्ध युद्ध शुरू गरेर हामासले आज बिहान एउटा गम्भीर गल्ती गर्यो। आईडीएफका सैनिकहरू सबै घुसपैठ भएका स्थानहरूमा शत्रुसँग लडिरहेका छन्,” गलान्टले भनेका छन्, "इजरायलले यो युद्ध जित्नेछ।"
त्यस्तै, इजरायलको विपक्षी दलका प्रमुखहरूले संयुक्त वक्तव्य जारी गर्दै आईडीएफलाई पूर्ण समर्थन दिँदै अन्तर्राष्ट्रिय समुदायलाई यसको निन्दा गर्न आग्रह गरेका छन्।
तेल अवीवस्थित नेपाली राजदूतावासले सामाजिक सञ्जाल फेसबुकमा पोस्टमार्फत इजरायलको गाजासँगको सीमालगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको जानकारी गराउँदै अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्न र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न नेपाली समुदायमा अनुरोध छ। अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
